चितवन, साउन ७ । चितवन राष्ट्रिय निकुञ्जने माडी कुसुम खीलामा रहेको चेपाङ बस्तीका ८ घर हात्ती लगाएर भत्काइएको र २ घरमा आगो लगाइ विस्तापित बनाएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आपत्ति जनाएको छ।
भुमिहिन अवस्थामा रहेका चेपाङ्ग समुदाय विगत २३ वर्ष देखि यस क्षेत्रमा बसोवास गर्दे आएको र निकुञ्जले जर्वजस्ती स्थानीय उपभोक्ताको अधिकार कुण्ठित गरी अमानविय व्यवहार गरेको भन्दै महासंघकी अध्यक्ष भारती पाठकले विज्ञप्ती मार्फत आपत्ति जनाएको छ। मध्य वर्षाको समयमा घरमा आगो लगाउने समेतको काम हुनु मानवीय होइन यसमा मानव अधिकार आयोगले समेत चासो दिनु जरुरी छ विज्ञप्तीमा उल्लेख गरेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरगतका निकाय आरक्षण, संरक्षण क्षेत्र तथा मध्यवर्ति यामुदायिक वन उपभोक्ता समूहमा स्थानीय समुदायको वन व्यवस्थापन आधिकार कटौति, मानव अधिकार हनन् हुने गरी वार्डेन को नियन्त्रणमा रहनु र राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र वरिपरि असुरक्षित गतिबिधि हुने गरेको विषय पटक पटक उठाउँदै आएको भन्दै तत्काल यस्तो कार्य रोक्न र दोषीलाई कारवाही गर्न माग गरेको छ।
स्थानीय समुदायले सालको पात निगुरो टिप्न समेत नपाउने व्यवस्थाबाट समुदायका विपन्न महिला, दलित, आदिवासी जनजाति लगायत समुदायको अधिकारमा आघात् पुगिरहेको भन्दै सच्याउन माग गरेको छ। निकुञ्जले विपन्न वर्ग व्यवस्थापन होइन मध्य वर्खामा आगो लगाएर उठिवास गराउनु मानवीय समवेदनाको पराकाष्ट भएको विज्ञप्तीमा उल्लेख छ।


























