साउन ७ । ज्लाटन ईब्राहिमोभिचको दुई गोलको सहयोगमा एसी मिलानले सासुलोलाई २–१ गोल अन्तरले हराएको छ।
मंगलबार राति सासुलोको घरेलु मैदानमा ज्लाटनको दुई गोलमा मिलान क्लबले तीन अंक जोडेको हो।
खेलको १९ औं मिनेटमा ज्लाटनको हेड गोलमार्फत मिलान क्लब अघि बढ्यो। घरेलु टोलीका फ्रान्सिस्को कापुटोले ४२ औं मिनेटमा पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए।
तर पहिलो हाफमै ईन्जुरी समयमा ज्लाटनले दोस्रो गोल गर्दै मिलान क्लबलाई २–१ ले अघि बढाएका थिए।
अबरुद्ध सिजन पुन सुरु भएपछि मिलान क्लब अपराजित छ। र युरोपा लिग छनोटमा एसी मिलानले आफुलाई सुरक्षित गरेको छ।
मिलान क्लब ५९ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लियो। सासुलो ४८ अंक सहित आठौं स्थानमा यथावत रह्यो।
अर्को खेलमा बोलोग्नामाथि १–० को जित निकाल्दै एटलान्टा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
एटलान्टाको जितमा लुईस मुरियलले ६२ औं मिनेटमा विजयी गोल गरे। डुवान जपाटाको पासलाई सदुपयोग गर्दै मुरियलले एटलान्टालाई महत्वपूर्ण तीन अंक दिलाए।
जितसंगै एटलान्टा लिगको दोस्रो स्थानमा उक्लियो। उसले शीर्ष स्थानको युभेन्ट्ससंगको दुरी ६ अंकमा झार्यो र तेस्रो स्थानको ईन्टर मिलानसंग २ अंकको अग्रता कायम गर्यो।
बोलोग्ना ४३ अंक सहित तालिकाको १० औं स्थानमा उक्लियो। एजेन्सी


























