साउन ७ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ। मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
वाट्फोर्डको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे। यस्तै फिल फोडेन र एम्रिक लापोर्टेले एक एक गोल गरे।
खेलको ३१ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए।
४० औं मिनेटमा सिटीले पेनाल्टी प्राप्त गर्यो। जसमा स्ट्रर्लिङको प्रहार वाट्फोर्डका गोलकिपर बेन फोस्टरले बचाए। तर, स्ट्रर्लिङले रिबाउन्डमा गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए।
खेलको ६३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता ३-० को बनाए। त्यसपछि खेलको ६७ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीलाई ४-० को सहज जित दिलाए।
जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ। र, सिटीले च्याम्पियन तथा लिग लिडर लिभरपुलसँगको अंक दुरी समेत घटाएको छ।
सिटी लिभरपुल भन्दा १५ अंकले पछि रहेको छ। लिभरपुलको ९३ अंक रहेको छ।
वाट्फोर्ड ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ। एजेन्सी


























