काठमाडौं, साउन ५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी एकता भत्काउन दुष्प्रचार भइरहेको दाबी गरेका छन्।
पार्टी एकताका कुरालाई कतिपयले नरुचाएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत नेता शर्माले भनेका छन्, ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति।’
उनले पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्देलित भएर दुष्प्रचार गरिरहेको कुराप्रति भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल समेत गरेका छन्।
‘कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रष्ट पार्दछु’, उनले भनेका छन्।
नेता शर्मा तिनै नेता हुन् जसलाई साक्षी राखेर ओली र दाहालले पार्टी एकताको सम्झौतामा हस्ताक्षर गरेका थिए।
अहिले प्रचण्ड खेमाबाट शर्माले सहमतिका लागि प्रयास गरिरहेका छन्। उनी ओली दाहालबिच भएका पछिल्ला बैठकहरुमा समेत लगातार सहभागी छन्।
प्रचण्ड–नेपाल (वरिष्ठ नेता माधवकुमार नेपाल) पक्षले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आएका छन्। ओलीले कुनै पनि हालतमा दुवै पद नछोड्ने अडान लिएका छन्।
पार्टी फुटको संघारमा पुगेको भन्दै नेकपाका दोस्रो तथा तेस्रो तहका नेताहरुले चिन्ता व्यक्त गरी दबाब दिए पनि शीर्ष तहमा सहमति बन्न सकेको छैन।
सहमतिका विभिन्न विकल्पहरुमा छलफल हुने क्रममा आउँदो मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव आएको थियो। सुरुमा ओलीको प्रस्तावमा प्रचण्ड पनि सहमत भएको बताइएको थियो, तर प्रचण्डले आइतबार आफूले त्यस्तो कुनै सहमति नगरेको बताए।
शीर्ष तहमा सहमति बन्न नक्दा नेकपाको स्थायी कमिटि बैठक लगातार स्थगित हुँदै आएको छ।


























