काठमाडौं, साउन ४। आइतबार सेयर बजारमा उछाल आयो। एक घण्टाजसोमै पजिटिभ सर्किटसँगै दिनभरीका लागि कारोबार स्थगित भयो।
कारोबार सुरु भएदेखि उच्च दरले उकालो लागेको नेप्से ४ मिनट नहुँदै ४ प्रतिशतले नेप्से बढेसंगै पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित गरियो।
त्यसपछि खुलेको बजार एक मिनेटम नहुँदै नेप्से ५ प्रतिशत बढेसँगै ४० मिनेटका लागि कारोबार रोकियो।
त्यसपछि पनि कारोबार खुलेको केही मिनेटमै नेप्से वृद्धि ६ प्रतिशत पुगेसँगै दिनभरीका लागि कारोबार स्थगित गरियो।
पछिल्ला दिन लगातारजसो सकारात्मक रहँदै आएको बजार मौद्रिक नीतिले थप हौसिएको विश्लेषण गरिएको छ।
नेप्सेमा ८४ अंकको उछाल आएर १४ सय ७९ पुग्यो। मात्र सामुहिक लगानी कोष समूह नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूह उकालो लागे।
जीवन बिमा समूहमा ५ सय ४८ अंकको उच्च वृद्धि आयो। निर्जीवन बिमा समूह पनि २ सय २ अंकले बढ्यो।
उत्पादनमूलक समूह १ सय ४१ अंकले उकालो लाग्यो। लघुवित्त समूहमा ९२ अंक अनि वाणिज्य बैंक समूह पनि ८८ अंकले उक्लियो।
अत्यन्त थोरै समय मात्र कारोबार हुँदा यस दिन नेपाल स्टक एक्सचेन्जमा जम्मा १ सय ११ कम्पनीको १ लाख ८० हजार कित्ता शेयर जम्मा ६ करोड २० लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ।


























