सप्तरी, साउन ४ । सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारका सबैजना सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ ।
राजविराजका ७२ वर्षीय बृद्वको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो।
मृत्यु भएका बृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिका(६ का अध्यक्ष प्रेम यादवले जानकारी दिए। संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ।
मृतक बृद्धको परिवार दुई साताअघि भारतबाट फर्किका थिए। मृतकले आफ्नी पत्नीलाई उपचार गराउन गत फागुनमै परिवारसहित भारत गएका थिए।
घर र्फकेपछि गत मंगलबार ७२ वर्षीय बृद्वलाई साँस फेर्न गाह्रो हुँदा उपचारका लागि धरान लगिएको थियो। तर, धरानमा पीसीआर टेस्ट गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
बिहीबार राति ८ बजे पोजेटिभ कोरोना संक्रमण पुष्टि भएका उनको सोही राति १० बजे मृत्यु भएको थियो।
उनको मृत्यु भएपछि उनको परिवारका सबैजनाको स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षण गरिएको थियो।
उनको पसलका कर्मचारीको समेत स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको वडाध्यक्ष यादवले बताए। तर उनीहरुको रिपोर्ट आइसकेको छैन्।


























