साउन ३ । वनारसमा एक नेपालीको जबरजस्ती कपाल मुण्डन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
वनारसका प्रहरी प्रमुख अमित पाठकले एक जना आरोपीलाई पक्राउ गरिएको भारतीय समाचार च्यानल एनडिटिभी हिन्दीलाई बताए।
उनले भने, ‘हामीले एक जनालाई पक्राउ गरेका छौं। अरूको पहिचान गरिसकेका छौं। उनीहरूको खोजी भइरहेको छ।’
घटनालाई गम्भीर रूपमा लिएको र दोषीमाथि कडा कारबाही गरिने उनले बताए।
‘हामीले यसलाई घटनालाई लिएर गम्भीर छौं र घटनाका दोषीमाथि कडा कारबाही गर्नेछौं,’ उनले भने।
केही दिनअघि भानुभक्त जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभएर नेपालमै भएको र भगवान राम नेपालकै जन्मेका हुन् भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर वनारसको एक दक्षिणपन्थी संगठनमा आवद्ध केही व्यक्तिको समूहले ती नेपालीको जबरजस्ती कपाल मुण्डन गरेर ‘जय श्री राम’ नारा लगाउन लगाएको थियो।
उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
प्रहरी प्रमुख पाठकका अनुसार एक आरोपी अरूण पाठक हुन्। जसले उक्त भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।


























