बेसीशहर, साउन २ । लमजुङमा क्वारेन्टिनमा बसेका एक युवकले झुण्डिएर आत्महत्या गरेका छन्।
यहाँको क्व्होलासोथार गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवकले आत्महत्या गरेको साल्मे भञ्ज्याङ स्वास्थ्यचौकीका इन्चार्ज सन्तोषबाबु सुवेदीले जानकारी दिए।
ती युवक असार ३१ गतेदेखि बुद्धोदय माविको क्वारेन्टिनमा बस्दै आएका थिए। उनी बुटवलबाट आएर क्वारेन्टिनमा बसेका थिए।
क्वारेन्टिनमा उनी एक्लै बस्दै आइरहेका थिए। आफैं पकाएर खाने गरेका उनले भान्सा कोठामा झुण्डिएर आत्महत्या गरेको सुवेदीले बताए।
फागुनमा दिदीको घर बुटवल गएका ती युवक असार ३१ मा गाउँ गएका थिए। पछि उनलाई गाउँपालिकाको नियमअनुसार क्वारेन्टिनमा राखिएको थियो।
लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले शवको पोस्टमार्टम गर्न दमौली या बेसीशहर लैजाने तयारी भएको बताए।
उनको पीसीआर परीक्षणका लागि स्वाबसमेत संकलन गरिने भएको छ।


























