काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामका बारेमा दिएको विवादित बयानको नतिजा भारतमा रहने नेपालीले भोग्नुपरेको छ। उनको विवादति बयानपछि भड्एिका भारतीयहरु नेपाली नागरिकमाथि दुर्व्यवहार गरिरहेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दु सेनाले एक नेपाली युवकको शीर मुण्डन गरेर दुर्व्यवहार गरेको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ। ती युवकको शीरमा उक्त संगठनका कार्यकर्ताहरुले ‘जय श्रीराम’ लेखेका छन्। उनीहरुले नेपाली युवकबाठ जवरजस्ती आफ्नो संगठन र भारतको समर्थन र नेपालका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएका छन्।
हिन्दुवादी संगठन विश्व हिन्दु सेनाले उक्त घटनाको भिडियोे सामाजिक सञ्जालमा भाइरल गरेको छ। भिडियोमा गंगा घाटको दृष्य देखिन्छ। उक्त भिडियोमा नेपाली युवकका पछाडिबाट कार्यकर्ताहरु संगठन र हिन्दुस्तान जिन्दाबादको नारा लगाइरहेको देख्न सकिन्छ।
हिन्दुवादी संगठनका कार्यक्र्ताहरु ती नेपाली युवकबाट पनि ‘जय श्रीराम’ को नारा लगाइरहका भिडियोमा देखिन्छ। उनीहरुले युवकबाट ‘नेपाली प्रधानमन्त्री ओली मुर्दाबाद’ को पनि नारा लगाउन दबाब दिएका छन्।
हिन्दुवादी संगठनले नेपाली युवकमाथि दुर्व्यवहार गर्नुभन्दा अघि बिहीबार बिहान वाराणसीको चोक क्षेत्रमा रहेको नेपाली मन्दिर बाहिर चेतावनीयुक्त पोस्टर लगाएको थियो । पोस्टरमा लेखिएको थियो, ‘नेपाली पीएम ओली प्रभु श्रीरामविरुद्धको बयान फिर्ता लेउन, अन्यथा यसको परिणाम भारतमा रहने नेपालीहरुले भोग्नुपर्ने छ।’
भिडियो भाइरल भएपछि स्थानीय प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ। प्रहरीले हिन्दुवादी संगठनका अध्यक्ष र घटनामा सहभागी उनका कार्यकर्ताहरुविरुद्ध उजुरी (एफआईआर) दर्ता गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। प्रधानमन्त्री ओलीले केही दिनअघि भगवान रामको जन्मस्थल अहिलेको अयोध्या नभएको दाबी गरेका थिए। उनले राम नेपालमा जन्मेकोसमेत बताएका थिए।


























