साउन २ । रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ।
बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि जितेको हो।
यससँगै रियलले ३४ औं पटक ला लिगाको उपाधि जितेको छ। रियल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब हो।
यस्तै रियलले तीन वर्षपछि ला लिगाको उपाधि जितेको हो। यस अघि सन् २०१६/१७ को सिजन रियलले उपाधि जितेको थियो।
अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे। भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए।
पहिलो हाफको २९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए। उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे।
खेलको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाए। खेलको ८३ औं मिनेटमा भिल्लाका इबोर्राले एक गोल फर्काएपनि रियल २-१ ले विजयी भयो।
यस्तै खेलको इन्जुरी समयमा रियलका मार्कुस एसेन्सियोले गोल गरेका थिए। तर, भीएआरको सहायताले उनको गोललाई रेफ्रीले मान्यता दिएन।
भिल्लामाथिको जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि चुमेको हो।
रियलले ३७ खेलमा ८६ अंक जोडेको छ। बार्सिलोनाको ७९ अंक रहेको छ। ७५ अंक जोडेको भिल्ला पाँचौं स्थानमा रहेको छ।
बार्सिलोना बिहीबार राति नै ओसासुनासँग २-१ ले पराजित भएको छ। एजेन्सी


























