काठमाडौं, साउन १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल बिना निष्कर्ष टुगिएको छ।
साढे २ घण्टा छलफल भए पनि ठोस सहमति नभएको बालुवाटर स्रोतले जनाएको छ। स्रोतले भन्यो, ‘साढे २ घण्टा छलफल भएको छ। ठोस कुनै सहमति भएको छैन।’
यसअघि ओली र प्रचण्ड एक्लाएक्लै छलफलमा जुट्दै आएका थिए। अध्यक्षद्वयले बुधवार पनि साढे दुई घण्टा छलफल गरेका थिए। पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला केही दिन एक्लाएक्लै छलफल गरेका ओली-प्रचण्ड ठोस निश्कर्षमा पुग्न सकेका छैनन्।
यसअघि अध्यक्षद्वयले आफ्ना केही सहयोगी नेताहरुलाई छलफलमा सहभागी गराए पनि वरिष्ठ नेताहरुले भने प्रवेश गरेका थिएनन्।
प्रचण्डले नेपाललाई पनि बैठकमा बोलाउने बताएपछि बिहीवार उनलाई बोलाइएको हो। बिहीवार बिहानमात्रै प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल सहभागी थिए।
खुमलटारको बैठकमा अध्यक्ष ओलीलाई दबाव दिँदै स्थायी कमिटी बैठक चलाउने समझदारी भएको थियो।
स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित अधिकांश नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। त्यसपछि नेकपाको विवाद झनै बल्झिएको थियो। प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा कायम छन्।
पार्टी फुटको संघारमा पुगेको भन्दै संकट टार्नका लागि सहमतिको जिम्मा ओली- प्रचण्डलाई दिइएको थियो। अध्यक्षद्वय सहमतिमा नपुगे पनि पार्टीका केही नेताहरु फुटबाट जोगिएको सन्देश प्रवाह गरिरहेका छन्। पार्टीलाई विभाजनबाट जोगाउन भन्दै नेता कार्यकर्ताहरुले खबरखदारी गरिरहेका छन्।


























