दमौली । तनहुँका विभिन्न ठाउँमा पहिराले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ। आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ मध्ये दश जनाको शव साेमबार भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बेपत्ता रहेका दुई जना भने अझै फेला पर्न नसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।
रात परेकाले बेपत्ता भएकाहरुको खोजी कार्यलाई स्थगित गरिएको र मङ्गलबार बिहानबाट पुनः खोजी कार्य तीव्र पारिने पौडेलले बताए। ‘दिनभरको प्रयासबाट दश जनाको शव निकाल्न सफल भएका छौँ, मंगलबारबाट पुनः खोजीकार्य तीव्र पारिनेछ,’ उनले भने, ‘बेपत्ता भएकाको खोजीका लागि ठूला उपकरणसमेत प्रयोग गरिएको छ।’

पहिराले पुरिएर बेपत्ता भएका ऋषिङ–८ पल्ट्याङ भैसीकिलेका एकै परिवारका पाँच, व्यास–९ माझफाँटमा एकै परिवारका तीनसहित चार र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ। पहिराले पुरिएर ऋषिङ–८ पल्ट्याङ भैसीकिलेका ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया थापा, निजकै पाँच वर्षीया छोरी अमिषा थापा, २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापाको शव भेटिएको छ। उनीहरु अनबहादुर थापाका छोराबुहारी हुन्। पहिराले पुरिएर घाइते अनबहादुरका श्रीमती ज्योतिमायाको भने उद्धारपछि पोखरामा उपचार भइरहेको छ।
यस्तै व्यास–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको शव फेला परेको छ। पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। पहिराले पुरिएर व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा र व्यास–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेल बेपत्ता छन्। पहिराले पुरिएर घाइते व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस


























