जमजुङ । बाढी पहिराका कारण लमजुङमा १०९ घर परिवार विस्थापित भएका छन्। केही दिनदेखि लगातार परेको अविरल वर्षाले साेमबार पनि मध्यनेपाल नगरपालिकाका विभिन्न वडाका बस्ती विस्थापित भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार मध्यनेपाल नगरपालिकाको वडा नं. ६ रानीपानी गाउँका ३१, लामासोतीका २७, रातामातेका २१, भदौरेका ११, गुम्बाबेँसीका नौ घर विस्थापित भएका छन्।
त्यस्तै, वडा नं. ३ सूर्यपालका पाँच, वडा नं. २ प्रजालुटारका तीन घर, वडा नं.४ चर्दीमा एक घर र वडा नं. १ खवास गाउँमा एक घर विस्थापित भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए। विस्थापित परिवारलाई प्रहरी र स्थानीयले मिलेर सुरक्षित स्थानमा राखेको छ। विस्थापित भएकाहरुलाई इशानेश्वर माध्यमिक विद्यालय, आफन्तको घर र अन्यत्र सुरक्षित तरिकाले राखिएको छ। याेवर्ष अहिलेसम्मकै सबैभन्दा बढी घर परिवार विस्थापित भएकाे प्रहरीले जनाएकाे छ। पहिराले मानवीय क्षति भने हुन नपाएको प्रहरी निरीक्षक पुनले बताए। रासस


























