सिरहा, असार २९ । प्रहरीले सिरहाको दुई स्थानबाट लागुऔषधसहित दुईजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा सीमावर्ती बरियारपट्टि गाउँपालिका २ श्रीपुरका २० वर्षीय चन्दन कुमार यादव र नवराजपुर गाउँपालिका ४ का रामपुकार शर्मा रहेको प्रहरीले जनाएको छ। यादवलाई बरियारपट्टि गाउँपालिका ३ बाट र शर्मा लहान बजारबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेका अनुसार यादव पैदल यात्रीलाई सादा पोशाकको प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरिएको हो। उनको साथबाट लागुऔषध अल्प्राजोल्याम ट्याब्लेट १८०० पीस र पेन्टाजोसाईन २८६ एम्पुल बरामद भएको छ।
यसैगरी इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले शर्मालाई चेकजाँचको क्रममा पक्राउ गरेको हो। उनको साथबाट लागुऔषध डाइजिल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल, नोफिन ४६ एम्पुल गरी जम्मा १३९ एम्पुल बरामद भएको छ। शर्माले प्रयोग गरेका १६० सीसीको अपाचे अनटेष्ट मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा लिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए।


























