चितवन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको संख्या बढ्दै जाँदा शैक्षिक संस्थाहरु कहिलेदेखि सञ्चालन गर्ने भन्ने अझै अन्यौल कायमै छ। संक्रमण रोकथामका लागि जारी बन्दाबन्दी (लकडाउन) केही खुकुलो भए पनि विद्यालय सञ्चालनबारे सरकारले ठोस निर्णय नलिँदा थप अन्यौल सिर्जना भएको हो। जसले गर्दा विद्यार्थीहरु विगत चार महिनादेखि घरमै बस्न बाध्य छन्।

यो विषम परिस्थितिमा पनि पठनपाठनलाई निरन्तरता दिन भरतपुरस्थित ‘डन एकेडेमी’ शरदपुरले भने अनलाइन कक्षा सञ्चालन गरिरहेको छ। विद्यार्थीको मनोविज्ञान बुझेर उपयुक्त समयमा कक्षा सञ्चालन गर्दै आएको एकेडेमीकी प्राचार्य संगीता वस्ती विष्टले बताइन। घरायसी तथा सिर्जनात्मक काममा पनि विद्यार्थीहरुलाई सहभागी गराइएको उनले बताइन्। एकेडेमीले कक्षा एकदेखि दससम्मकै विद्यार्थीको लागि नियमितरुपमा अनलाइन कक्षा चलाउँदै आएको शैक्षिक कार्यक्रम संयोजक किसान शर्माले जानकारी दिए।

‘अनलाइन कक्षाबाट हामीले जुन किसिमले पढाइरहेका छौं, यसलाई पूर्णता दिन परीक्षा लिनुपर्ने हुँदा पढाइको मापन गर्ने आधार परीक्षा नै भएकोले हरेक शुक्रबार सबै कक्षाका विद्यार्थीहरुको लागि परीक्षा सञ्चालन गरेका छौं,’ परीक्षा संयोजक सरिता वस्तीले भनिन्, ‘अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीभित्र अन्तरनिहीत प्रतिभालाई प्रष्फुटन गराउने प्रयास गर्दै विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं।’

लगनशिलता र नियमिततालाई मूल्याङ्कन गर्दै उत्कृष्ट विद्यार्थीलाई डिजिटल प्रमाणपत्र प्रदान गर्दै आएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सुमन श्रेष्ठले जानकारी दिए। ‘विद्यालय पूर्णरुपमा सञ्चालनमा आएसँगै उनीहरुलाई पुरस्कृत पनि गर्नेछौं,’ उनले भने। प्रविधिले सजिलो बनाइदिएकोले विद्यालय नै बन्द भए पनि घरमै बसेर अध्ययन अध्यापनलाई निरन्तरता दिन सफल भएको विद्यालयले जनाएको छ। विश्वको अधिकांश देशमा अनलाइन कक्षाबारे राम्रो अभ्यास भएकोले नेपालमा पनि सबै ठाँउमा आवश्यक पूर्वाधारबारे सोच्ने हो भने सबैमा समान शिक्षा हुने विद्यालयले जनाएको छ।





























