हेटाैडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट प्रहरीले लागूऔषध (अफिम) सहित मोटरसाइकल बरामद गरेको छ। चेकजाँचको क्रममा पाँच केजी अफिम र अफिम ओसार्न प्रयोग गरिएको पल्सर मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुशीलसिंह राठाैरले जानकारी दिए। नेवारपानीको प्रहरी टोलीले पुर्वपश्चिम राजमार्गअन्तर्गत नेवारपानीमा चेकजाँच गर्ने क्रममा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकलबाट ५ केजी अफिम बरामद गरेको प्रहरी उपरीक्षक राठाैरले बताए।
प्रहरीको चेकिङ टोली देखेपछि अफिम भएको झोला छाडेर मोटरसाइकलमा सवार जंगलतर्फ भागेको मकवानपुर प्रहरीले जनाएकाे छ। बरामद भएकाे अफिमको बजार मुल्य ५ लाख बराबरकाे भएकाे प्रहरी प्रमुख राठाैरले जानकारी दिए। अफिम ओसार्ने माेटरसाइकलमा सवार दुइजना फरार रहेकाेले खोजीकार्य जारी रहेकाे उनले बताए।


























