विनोद अनुज, २७ असार २०७७, चितवन। पहिलो पटक २०७७ बैशाख ५ गते एकैदिन दुईजनामा कोरोना संक्रमण पुष्टि भएको चितवनमा असार २८ गतेसम्ममा संक्रमितको संख्या १०० पुगेको छ। राप्ती नगरपालिकाका ६३ वर्षकी महिला र २७ वर्षका पुरूषमा एकसाथ कोरोना पुष्टि भएको थियो। लण्डनबाट कतार हुँदै नेपाल आएका ती दुईजनामध्ये २७ वर्षका पुरूष एकहप्तामै संक्रमणमुक्त भएका थिए भने ६३ वर्षकी महिला भने करिब २६ दिनपछि निको भएकी थिइन्।
त्यसपछि थपिएको संक्रमितको संख्या ९१ दिन बित्दै गर्दा १०० जना पुगेको भरतपुर अस्पतालले जनाएको छ। तीमध्ये पनि १६ जना महिला र ७४ जना पुरूष छन्। संक्रमितमध्ये ५९ जना निको भइसकेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। अहिले २६ जना संक्रमितको भरतपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइरहेको उनले बताए। अस्पतालको तथ्यांक हेर्दा धेरै जसो बिरामी नको भएका छन्।
भरतपुरमा मात्रै ५२ जना
बैशाख ५ गतेबाट सुरू भएको कोरोनाले चितवन जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकालाई प्रभावित तुल्याएको छ। भरतपुर अस्पतालको तथ्यांकअनुसार भरतपुर महानगरपालिकाभित्र मात्रै ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार मात्रै भरतपुर महानगरपालिकाभित्र एक महिलासहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
भरतपुर महानगरपालिकापछि माडी नगरपालिकामा सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। माडीमा मात्रै आइतबारसम्ममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए। राप्ती र कालिका नगरपालिकामा पाँच/पाँच जना, रत्ननगरमा दुईजना र खैरहनी नगरपालिकामा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। इच्छाकामना गाउँपालिकामा भने हालसम्म एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन।
बाहिरी जिल्लाका संक्रमित पनि चितवनमै
भरतपुर अस्पतालमा चितवन जिल्लाका मात्र नभई चितवन बाहिरबाट पनि कोरोना संक्रमित उपचारको लागि आउने गरेका छन्। भरतपुर अस्पतालको तथ्यांकअनुसार हालसम्ममा चितवन बाहिरका मात्रै ८७ जना संक्रमितले भरतपुर अस्पतालबाट उपचार पाएका छन्। चितवन बाहिर र भित्रका गरी हालसम्म दुईजना संक्रमितको मृत्यु भएको छ। संक्रमितको संख्या, हालसम्मको उपचार र मृत्युको संख्यालाई हेर्दा चितवन जिल्ला कोरोनाको नियन्त्रणभित्रै रहेको अस्पतालको दाबी छ।
गतवर्ष चैत २४ गतेबाट भरतपुरमै काेराेना भइरसकाे नमुना परीक्षण थालेपछि जिल्लाबाहिरका संक्रमितले पनि भरतपुर अस्पतालबाटै सेवा लिन थालेका हुन्। छिमेकी जिल्लामा काेराेना संक्रमितकाे व्यवस्थापन गर्न समस्या भएकाेले पनि भरतपुर अस्पताल पठाउने गरिएकाे छ। चितनवनकै प्रयाेगशालाबाट भने हालसम्ममा ६ हजार १०० भन्दा बढी नमुनाकाे परीक्षण भएकाे अस्पतालले जनाएकाे छ।


























