असार २८ । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा युभेन्ट्सले सिरि ए फुटबलमा एटलान्टासंग बराबरी खेलेको छ।
शनिबार राति युभेन्ट्सले घरेलु मैदानमा एटलान्टासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
युभेन्ट्सका लागि दुवै गोल रोनाल्डोले पेनाल्टीमा गरेका थिए। दुवै पटक खेलमा पछि परेको अवस्थामा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएका हुन्।
बराबरीको नतिजासंगै युभेन्ट्सले सिरि ए फुटबलमा ८ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ।
पाहुना टोली एटलान्टाले दुई पटक अग्रता बनाउँदै लामो समय खेल नियन्त्रणमा राखेको थियो। टुरिन क्लबबिरुद्ध डुवन जापाटा र रुस्लान मालिनोवस्कीले गोल गर्दै एटलान्टालाई अघि बढाएका थिए।
तर खेलको ५५ औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले खेलको अन्तिम मिनेटमा समेत पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएका थिए। उनले लिगको २८ खेलमा २८ गोल गर्न सफल रहे।
शीर्ष स्थानको युभेन्ट्सको ७६ अंक छ। तेस्रो स्थानको एटलान्टाको ६७ अंक छ। एटलान्टा दोस्रो स्थानको लाजियो भन्दा मात्र एक अंकले पछि छ। बराबरीको नतिजासंगै क्लबले लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। एजेन्सी


























