असार २७ । रियल मड्रिडका डिफेन्डर मार्सेलोले ला लिगको बाँकी सिजन गुमाउन सक्ने देखिएको छ। मांसपेशीको चोटका कारण उनी आल्भेसबिरुद्धको खेलमा समेत देखिएका थिएनन्।
क्लबले उनको चोटको पुष्टि गर्दै मांसपेशीमा देखिएको समस्याका कारण आल्भेसबिरुद्धको खेलमा मार्सेलो नदेखिएको बताएको छ।
क्लबले चोटका कारण मार्सेलो मैदान बाहिर रहने समय बताएको छैन। तर उनी ला लिगाको सिजनको अन्तिमसम्म मैदान बाहिर रहने सक्नेछन्।
रियल मड्रिडले गत आईतबार एथ्लेटिक क्लबबिरुद्ध प्राप्त १–० को जितमा मार्सेलोले पुरै ९० मिनेट मैदानमा बिताएका थिए। सो खेल लगत्तै क्लबले उनलाई जाँचका लागि मेडिकल सेन्टरमा पठाएको थियो। शुक्रबार मात्र उनको मांसपेशीमा देखिएको चोटको पुष्टि भएको हो।
‘रियल मड्रिडको मेडिकल सेवा अन्तर्गत मार्सेलोमाथि गरिएको परिक्षणमा उनको मांसपेशीमा चोट लागेको पत्ता लागेको छ।’ क्लबद्धारा जारी बिज्ञप्तीमा भनिएको छ।
पछिल्लो चोटसंगै मार्सेलोले ला लिगाको बाँकी सिजन गुमाउन सक्नेछन्। रियलले लिगमा तीन चरणको खेल खेल्न बाँकी छ।
मार्सेलोले चोटका कारण यस सिजन मात्र १५ खेलमा देखिने मौका पाए। प्रशिक्षक जिनेदिन जिदानले उनको स्थानमा फेरोमे मेन्डेलाई खेलाएका छन्।
ब्राजिली स्टार मार्सेलो च्याम्पियन्स लिगको दोस्रो लेग अघि निको हुने अपेक्षा गरिएको छ। अर्को महिना रियलले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा सिटीबिरुद्ध खेल्दैछ। घरेलु मैदानमा भएको पहिलो लेगेको खेल रियलले २–१ ले गुमाएको थियो।
सिटीबिरुद्ध जित निकालेको खण्डमा रियलले च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा युभेन्ट्स वा लियोनबीचको विजेतासंग खेल्नेछ। रियल स्पेनिस लिगको उपाधि नजिक देखिएको छ। उपाधिका लागि रियलले बाँकी तीन खेल मध्य दुई खेलमा जित निकाले पुग्नेछ। एजेन्सी


























