असार २४ । कोलम्बियाको एक राजमार्गमा तेल बोकेको ट्यांकर विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन्। तेल चोर्न खोज्दा घटना भएको भिडियो फूटेजबाट पत्ता लागेको छ।
घटना सोमवार बिहान माग्दालेनामा भएको हो। म्यानुएल कातानोले हाँकिरहेको ट्यांकर ट्रक अचानक सडकमा जनावर आएपछि पल्टिएको थियो। ट्यांकरमा ५ हजार ग्यालन तेल थियो। ट्यांकर पल्टिएर घाँसे मैदानमा पुगेको थियो।
कातानोले कोलम्बियन पत्रिका नोटिसियास आरसीएनले आफू कुनै पनि सहायता विना नै गाडीको क्याबिनबाट निस्कन सफल भएको बताए। त्यसपछि मोटरसाइकलमा आएका एक पुरुषले उनको हालत सोधेका थिए।
ट्यांकर पल्टिएको केही मिनेटभित्रै नजिकैको शहर तासाजेराका निवासीहरू कन्टेनर लिएर ट्यांकबाट तेल निकाल्न आइपुगे। कातानो चाहिँ प्रहरी आउने प्रतीक्षा गरिरहे।
‘मैले उनीहरूलाई भनें यो अतिप्रज्वलनशील तेल हो,’ कातानोले भने। शुरूमा त भीड उनलाई सहायता गर्न आएको जस्तो लाग्यो।
तर भीडले उनलाई चिच्याउँदै चुप लाग्न भन्यो र तेल निकाल्नका लागि भल्भमा ठोक्न थाल्यो।
कातानोले घटनास्थलमा पुगेका प्रहरी अधिकारीलाई भेटे तर भीडले उनीहरूलाई केही गर्नै दिएन।
प्रहरीका अनुसार, घटनास्थलमा १२० मानिस थिए।
आफू ट्रकबाट पर जाँदा विस्फोट भएको र त्यसको असर अनुभव गरेको कातानोले बताए।
भिडियो फूटेजमा अनेकौं व्यक्तिहरूको शरीरमा आगो लागेको र उनीहरू यताउता दौडिएको देखिन्छ।


























