हेटौंडा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका युवाहरुले मंगलबार पार्टी कार्यालयमा घेराउ गरेका छन्। पछिल्लो राजनैतिक घटना क्रममा नेकपा दुई खेमामा विभाजन भएपछि पूर्वएमालेका अध्यक्ष केपी शर्मा ओली निकट खेमाले सोमबार ओलीको पक्षमा हेटौंडामा र्याली निकालेपछि रुष्ट पूर्वमाओवादी पक्षधरले मंगलबार पार्टी कार्यालयमा प्रर्दशन गरेको थियो।
पूर्वएमालेको ओली निकट विद्यार्थी र युवाहरूले उनको समर्थनमा सोमबार हेटौंडाको बुद्धचोकमा ‘कम्युनिष्ट युवा विद्यार्थी मकवानपुर’को व्यानरमा प्रदर्शन गरेका थिए भने मंगलबार पूर्वमाओवादी पक्षकाले ‘एकताका लागि दबाब अभियान, मकवानपुर’ को व्यानरमा प्रर्दशन गरेका हुन्।
नेकपा सम्वद्ध मकवानपुरका युवा तथा विद्यार्थीहरुले पार्टी एकताको लागि दबाब नेकपा मकवानपुरमार्फत पार्टीको केन्द्रीय कार्यालयलाई ज्ञापनपत्रसमेत बुझाएको छ। पार्टी एकतालाई मजबुत बनाउँदै नेकपालाई थप सशक्त बनाउनुपर्ने भन्दै नेकपा मकवानपुरको कार्यलयमा पुगेर पार्टी सचिव प्रेमबहादुर पुलामीमार्फत केन्द्रीय सदस्य कुमारी मोक्तानलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनत्रपमा पार्टी नेतृत्वमा देखिएको मनमुटावले पार्टीको कार्यकर्तामा निराशा पैदा भएको उल्लेख गरिएको छ। पार्टी सिद्धान्त र सस्थागत ढंगबाट चल्नुपर्ने माग राख्दै अभियानले पुलामीमार्फत मोक्तानलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका केन्द्रीय सदस्य किशोरकुमार टण्डनले पार्टीको नेतृत्वमा देखिएको तिक्तताले आम युवा विद्यार्थीमा असर परेको भन्दै पार्टी एक ढिक्का भएर जानुपर्ने बताए। ज्ञापनपत्र ग्रहण गरेपछि प्रतिक्रिया दिँदै सचिव पुलामीले युवा विद्यार्थीको मागअनुसार पार्टीलाई थप एकतावद्ध बनाएर लैजानको लागि नेतृत्व गम्भिर बन्नुपर्ने बताए।


























