काठमाडौं, असार २३ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तामा आफूनिकट दोस्रो तहका नेता मात्र संलग्न गराएपछि वरिष्ठ नेता माधव नेपाल र उनको समूह असन्तुष्ट बनेको छ। नेपालको असन्तुष्टि र आशंकापछि ओली र प्रचण्डले सोमबारबाट दोस्रो तहका नेताहरूविनै छलफल अघि बढाउने समझदारी गरेका छन्।
आइतबारको छलफलमा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मासहित छलफलमा बसेका उनीहरूले छलफलको गम्भीरताका कारण सहयोगी नेताहरूलाई तत्काल सामेल नगर्ने निर्णय गरेका हुन्।
पौडेल र पोखरेल ओली तथा शर्मा र पुन प्रचण्डनिकट नेताहरू हुन्। यसअघि उनीहरूलाई राखेर सहमतिको गृहकार्य गर्न अनौपचारिक कार्यदल बनाइएको बताइए पनि नेपालको असन्तुष्टिपछि त्यस्तो कार्यदल नबनेको भन्दै प्रचण्डको सचिवालयले आइतबार राति खण्डन गरेको थियो।
‘दुई अध्यक्ष मात्र बसेर खुसुखुसु गोप्य निर्णय गर्ने, अरूले पालना गर्ने यसपटक हुँदैन। हामीलाई विश्वास छ, यसपटक प्रचण्ड कमरेडले पनि त्यस्तो गर्नुहुन्न, अहिले ६ जना सचिवालय सदस्यहरू एकातिर, तीनजना अर्कोतिर हुनुहुन्छ। हामी त दुईतिर यस्तो विभाजनको स्थिति नहोस् भन्ने चाहन्छौँ,’ नेपालनिकट स्थायी समिति सदस्य रघुजी पन्तले भने, ‘त्यसैले नेता–कार्यकर्ता सबैको चित्त बुझ्ने गरी, पार्टी एकता जोगाउने गरी निर्णय हुनुपर्छ र स्थायी समितिले पनि स्वामित्व ग्रहण गरेर निर्णय हुनुपर्छ। यो कुरा सबै नेताले बुझ्नु भएको छ भन्ने मलाई लागेको छ।’
दुईजना मात्र लिएर जाने कुरा सन्तुलित नभएको भन्दै नेपालले आइतबार नै प्रचण्डसँग आपत्ति जनाएका थिए। तर, यसको अर्थ उहाँहरूबीच अविश्वास छ भन्ने नभएको नेपालनिकट अर्का स्थायी समिति सदस्यले बताए । नयाँ पत्रिका दैनिकबाट


























