काठमाडौं, असार २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मात्रै पार्टीभित्रको विवाद टुंगो लगाउने सहमति बनेको छ।
दुवै अध्यक्षबीच आज बालुवाटारमा भएको वार्तामा विवादलाई ‘वान टु वान’ वार्ताबाट टुंग्याउने सहमति बनेको प्रचण्डनिकट स्रोतले जनाएको छ।
आइतबार दुई अध्यक्षसहितको वार्तामा पार्टीको विवाद सुल्झाउन महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्यद्वय वर्षमान पुन तथा जनार्दन शर्मासहितको चार सदस्यीय कार्यदल गठन गरिएको थियो।
तर आज अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीका सबै विवाद ‘वान टु वान’ वार्तामार्फत् टुंगो लगाउने सहमति गरेका छन्। ‘वार्ता आज बल्ल पार्टीको विषयवस्तुभित्र प्रवेश गर्यो। अर्को दिन फेरि छलफल हुने गरी सकिएको छ,’ अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘अब पार्टीको विवाद दुई अध्यक्षमात्रै बसेर मिलाउनुहुनेछ। छलफल सकारात्मक हुँदै गएको छ।’


























