काठमाडौं, असार १९ । संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताएकाछन्।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताए।
मन्त्री भट्टराईले अहिले पर्यटक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने भएकाले यसमा छलफल र गृहकार्य आवश्यक रहेकोमा जोड दिए।
व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उनको भनाई थियो।
कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उनले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लािग सीसीएमसीमा प्रस्ताव लिएर जाने बताए।
मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्न हुने दाबी पनि गरे।
सरकारी र नीजि क्षेत्रबाट गरी पर्यटन क्षेत्रमा १० खर्ब बढीको लगानी रहेको उल्लेख गर्दै उहाँले साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको बताए।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादित ओम्नी समुहले अहिलेसम्म ढुवानी वापतको रकम एयरलाइन्सलाई नदिएको प्रति पनि उहाँले असन्तुष्टि जनाउँदै उक्त रकम लिएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे।
मन्त्री भट्टराईले अर्थतन्त्र पुनस्र्थापनाका लागि बजेटमाफर्त डेढ खर्ब बराबरको पुनकर्जा कोष बनाइएको उल्लेख गर्दै पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्न थप गृहकार्य भैरहेको उल्लेख गरे।


























