काठमाडौं, असार १९ । नेपालले आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ।
नरहरिपुर कराते डोजो, मच्छेगाँउ, चन्द्रागीरी ९ की सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा स्वर्ण हात पारिन्। उनले श्रीलङकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन्। यस्तै ७ बर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण हात पारे।
८ बर्ष मुनिको स्पर्धामा सत्कार घर्ती मगरले स्वर्ण हात पारे। उनले श्रीलङकाका थरुशा लकमललाई पराजित गरेका थिए। यसै गरि महिला १० बर्ष मुनिको स्पर्धामा दिक्षा महताराले स्वर्ण जितिन्। उनले ईरानकी साबा रोहीलाई पराजित गरेकी थिईन्।
ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका खेलाडीहरुले ३ रजत पनि हात पार्न सफल भएका छन्। रजत हात पार्ने खेलाडीहरुमा पुरुष क्याडेट तर्फ मनिष कार्की रहेका छन्। यस्तै महिला ९ बर्ष मुनिको स्पर्धामा स्वेता तामाङ र १३ बर्ष मुनिको समूहमा श्रृजना महताराले रजत प्राप्त गरे।
२ जुलाई देखि संचालन भएको च्याम्पियनसिपमा ९ बर्ष मुनिको पुरुष स्पर्धामा मुकेश खड्का, १० बर्ष मुनिका स्पर्धामा ओन्तो घर्ती मगर र १३ बर्ष मुनिको स्पर्धामा अमृत थोकरले कास्य पदक प्राप्त गरे।
च्याम्पियनसिप ५ जुलाई सम्म संचालन हुने प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले जानकारी गराएका छन्। मानन्धरले सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिप २०२० मा नेपालका लागि रजत पदक हात पार्न सफल भएका थिए।


























