चितवन, असार १९ । चितवनको इच्छाकामना गाउँपालिकालाई वडाको केन्द्र तोक्न नै सकस परेको छ। वडा नम्बर ३ को कार्यालय तोक्नका लागि गाउँसभामा मत विभाजन गर्दासमेत टुङ्गो लाग्न नसकेपछि सकस परेको हो।
बिहीबारको गाउँसभा बैठकमा विवादित वडाहरुको केन्द्र टुङ्गो लगाउन मत विभाजन गरिएको थियो। उक्त वडाको फिस्लिङ र चुम्लिङटार मध्य कुनै पनि प्रस्तावको पक्षमा बहुमत नभएपछि केन्द्र टुङ्गो लाग्न नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव सुकदेव लम्सालले जानकारी दिए। सचिव लम्सालका अनुसार सभामा तत्काल कायम सदस्य सङ्ख्याको ५१ प्रतिशत मतले केन्द्र टुङ्गो लगाउन सक्ने कानूनी प्रावधान रहेको छ।
इच्छाकामना गाउँपालिकाको गाउँसभामा तत्काल कायम सदस्य सङ्ख्या ३५ छ। जसअनुसार कुनै पनि प्रस्ताव बहुमतले पारित गर्न कम्तीमा पनि १८ मत ल्याउनै पर्ने हुन्छ। तर बिहीबार भएको गाउँसभामा प्रस्तावित वडा ३ को केन्द्र सम्बन्धमा फिस्लिङको पक्षमा १५ र चुम्लिङटारको पक्षमा १७ मत परेको थियो।
अब उक्त प्रस्तावमा छलफल गर्न आगामी असार २२ गते गाउँसभा बस्ने उनले जानकारी दिए। यसैबीच वडा नं २ को केन्द्र भने टुङ्गो लागेको छ। दश गतेदेखि जारी गाउँपालिकाको सातौँ गाउँसभाको बिहीबार बसेको चौथो बैठकले वडा नं २ को केन्द्र माथिल्लो काउलेमा तोकिएको हो।
गाउँपालिकाको ७ मध्य ५ वटा वडाको केन्द्र यस अघि नै टुंगो लागेर भवन निर्माणको काम सुरु भैसकेको छ। ती वडाहरु मध्ये पनि केही वडाको विवादका बीच वडाका जनप्रतिनिधिले नै वडाको केन्द्र टुङ्गो लगाएको थियो। बिहीबार तोकिएको वडा नम्बर २ को कार्यालय पुग्नका लागि वडा भित्रकै बासिन्दाहरु ४ घण्टासम्म पैदल हिडेर पुग्नुपर्नेछ। रासस


























