पोखरा, असार १९ । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ। ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै मानव अधिकार चोकमा प्रदर्शन भएको हो।
प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शनमा उत्रिएका युवाले भारतको विपक्षमा नारा लगाएका थिए। ‘भारतीय दलाल होसियार’ भन्दै नारा लगाएका युवाले केपी ओलीजस्तो देशभक्त प्रधानमन्त्री अरु नभएकोसमेत बताए। ‘देशको मुहार फेर्नु छ साथी पार्टीभन्दा राष्ट्रमाथि’ जस्ता नारा लेखिएका ब्यानरसहित प्रदर्शन भएको हो।
विषम परिस्थितिमा जनताका पक्षमा लडेका नेतालाई षडयन्त्रपूर्वक हटाउन देशीविदेशी शक्ति लागेकाले स्वतस्फूर्त प्रदर्शन गरिएको उनीहरुले बताए। पोखरामा शुक्रबार बिहानैदेखि परेको झरीका बीच प्रधानमन्त्री ओलीको फोटोसहितको ब्यानर लिएर ५० जनाभन्दा बढी प्रदर्शनमा उत्रिएका थिए।
प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी र युवा संघका नेता सहभागी थिए। यसअघि काठमाडौं र झापामा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री ओलीले हिजो आफ्नो समर्थनमा सडक आन्दोलन गर्न आफ्ना पक्षका युवा नेताहरुलाई निर्देशन दिएका थिए। राति ९ बजे पूर्वमन्त्री महेश बस्नेत, युवा संघका रमेश पौडेल, ऐन महर, सुनिता बराललगायतलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्।


























