चितवन, असार १९ । आफूहरूको तलब सुविधा रोकिएको भन्दै पटकपटक ध्यानकर्षण गराउँदै आएको संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले शुक्रबारदेखि मौन प्रदर्शन सुरू गरेको छ। इष्टुको राष्ट्रिय समितिको निर्देशनअनुसार शुक्रबार देशभरका सबै जिल्लाहरूमा एकसाथ मौन प्रदर्शन गरिएको इष्टु चितवनका अध्यक्ष जनकराज घिमिरेले बताए। आन्दोलनरत शिक्षकहरूले हातमा प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका हुन्।
इष्टुको नेतृत्वमा पटकपटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आए पनि वास्ता नगरेकोले आन्दोलन गर्न बाध्य भएको उनले बताए। ‘हामीले संस्थागत विद्यालयको नेतृत्व गर्दै आएको प्याव्सन, शैक्षिक क्षेत्रको अभिभावक शिक्षा समन्वय इकाइ र स्थानीय तहका सबै शिक्षासँग सम्बन्धित क्षेत्रलाई ध्यानकर्षण गराइसकेका छौँ,’ उनले भने, ‘तर, हाम्रो माग सुनुवाई नभएपछि सडकमा निस्किएका हौँ।’
विद्यालयले अहिले पनि शिक्षक कर्मचारीलाई काम लगाइरहेका छन्। तर, काम लगाए पनि सेवा सुविधा राकिँदा घरमा छाक टार्नसमेत समस्या हुन थालेपछि आन्दोलनको उपाय नलागेको उनले बताए। यसअघि पनि सरोकारवाला निकायमा बुझाएको ध्यानाकर्षण पत्रमा असार २० गतेसम्म सबै विद्यालयले चैत महिनासम्मको तलब सुविदा दिनुपर्ने भनेर उल्लेख गरिएको उनको भनाइ छ। तर, असार १९ गते गइसक्दासमेत कुनै प्रतिक्रिया नआएको उनले बताए।

चैतसम्मको तलब सुविधा केही विद्यालयले दिलाए पनि बैशाख महिनायताको भने जिल्लाका कुनै पनि विद्यालयले तलब नदिइएको इष्टु चितवनले जनाएको छ। शुक्रबारको आन्दोलनमा करिब १५० शिक्षक कर्मचारी सहभागी थिए।


























