गुल्मी, असार १९ । गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परेर १८ महिने बालकको मृत्यु भएको छ।
एक जना पुरिएका छन्। इश्मा गाउँपालिका–१ हस्तिचौरको सारु गाउँमा गएको पहिरोमा परेर बसन्त सारुका छोरा १८ महिने बालक सिजन सारुको मृत्यु भएको छ। त्यस्तै रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षा खत्री बेपत्ता छन्।
स्थानीय इश्वरा खत्रीसहित ४ जना गम्भीर घाइते रहेको वडा सदस्य जंगबहादुर कुँवरले बताए। इश्मा गाउँपालिका वडा नं. १ का स्वास्थ्य इन्चार्ज सम्शुल हक मियाले सारुगाउँमा गएको पहिरोमा दुई घर पुरिएको र दुई जना बेपत्ता भएको जानकारी दिए।
त्यस्तै मुसिकोट नगरपालिकामा पनि एक जना बेपत्ता भएका छन्। बिहीबार रातिदेखि परेको वर्षाले मुसिकोट नगरपालिका–२ मा आठ गोठ र २ घर बगाएको छ।
‘अहिले पहिरो झरिरहेकाले पुग्न सक्ने अवस्था पनि छैन्,’ स्वास्थ्य इन्चार्ज मियाल् भने, ‘गाउँमा पुग्न सक्ने सहज बाटो पनि नभएकाले अर्को बाटो हुँदै उद्धारका लागि जाने प्रयास भइरहेको छ।’
घटनास्थलमा मुसिकोट प्रहरी चौकीबाट प्रहरी पुग्न थालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए। पहिरोले इश्मामा २ घर बगाएको र मुसिकोटमा कम्तिमा ५ घर बगाएको जानकारी आएको उनले बताए।
‘इश्मा र मुसिकोटमा स्थानीय चौकीको प्रहरी टोली पुगिसकेको छ,’ उनले भने, ‘उद्धारको कार्यमा लागेकाले थप विवरण आइपुगेको छैन।’


























