काठमाडौं, असार १८ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको आज ९६ औ जन्मजयन्ती मनाइदैछ। कोरोना महामारीको यो अवस्थामा कोइरालाको जन्मजयन्तीको अवसरमा अनलाइन माध्यमबाट काँग्रेसनिकट संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्।
गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो। जहानियाँ राणा शासनको विरोध गरेको कारण निर्वासन रहेका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाको कान्छो छोराको रुपमा गिरिजा प्रसादको जन्म भएको थियो।
कोइरालाको राजनीतिको शुरुवात भने मजदूर नेताको रुपमा भएको थियो। गिरिजाप्रसाद नेपाल ट्रेड युनियन काँग्रेसको संस्थापक अध्यक्ष भए। २०१७ सालमा पञ्चायती व्यवस्था शुरु भएसँगै गिरिजाप्रसाद जेल परे।
२१ दिन भोक–हडताल गरे र छुटेर उनी २०२१ मा भारत प्रवासमा गए। २०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचत भए। उनी लामो समयसम्म महामन्त्री र पार्टी सभापति पनि भए।
२०४८ को आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री भए। सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसादलाई जान्छ।
कोइराला मुलुकमा पाँचपटक प्रधानमन्त्री भए भने चार कार्यकाल पार्टी सभापति भए। कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो।


























