काठमाडौं, असार १७ । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव गरी स्थगित गरिएको छ।
नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभाकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संघीय संसदका दुबै सदनको बैठक स्थगित गरिएको हो।
६३ वर्षीया सांसद छन्त्यालको बुधबार विहान बाँसवारीस्थित शहीद गंगलाल हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो।
२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुङ जिल्ला क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो।
राष्ट्रियसभाको अर्को बैठक असार १८ गते बिहिबार दिउँसो १ बजे र प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो १ बजे बस्नेछ।
Facebook Comments


























