काठमाडौं, असार १७ । आजको संसद बैठक शोक प्रस्ताव पारित गरी स्थगित हुने भएको छ। नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले आजको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको हो।
बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। यसअघि संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सेवा विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने लगायतका विषय उल्लेख थिए।
प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्यालको बुधबार बिहान काठमाडौंमा निधन भएको हो। छन्त्याल बहालवाला सांसद भएकाले संसद बैठक तोकिएको समयमै सुरु हुने छ र शोक प्रस्ताव पारित गर्दै सकिने छ। शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश गर्दैन।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सांसद छन्त्यालको निधन भएकोबारे संसद बैठक अगाडि नै संसद सचिवालयमा जानकारी दिने बताए। सम्बन्धित पार्टीले निधन भएको जानकारी जुन दिन दिन्छ, सोही दिन शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने प्रचलन छ।


























