काठमाडौं, असार १३ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन्।
एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मिहिनेत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए।
उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर विगार्ने काम गरिएको बताए।
उनले भने, ‘हामीले त ३०/४० वर्ष भयो बर्बाद पार्न थालेको। हाम्रा साना दुःखले बार्बाद पारेको होइन। हामीले बहुत मिहिनेतले बर्बाद परेका छौं। हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौं, हामीले अनेक प्रयत्नहरु गरेका छौं, ठेक्का पट्टा गरेका छौं, प्रोजेक्टहरु गरेका छौं। के के गर्यौँ गर्यौँ। यो कृषि व्यवस्था बिगार्नका लागि।’
छोटो समयमा सुधार्न चुनौती
लामो समयसम्म बिगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने मन्त्री भुसालले बताए।
३०/४० वर्षदेखि बिग्रँदै आएको कृषि ३ वर्ष भित्रमा सुधार्न चुनौती रहेको समेत उनले बताए। देशमा औद्योगिक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाडदा कृषि व्यवस्था र प्रणाली नै विग्रेको मन्त्री भुसालले बताए।
उनले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडि परेको बताए। उनले पछिल्लो ३०/४० वर्षयताको स्थितिलाई हेर्दा हेर्दै सबै कृषि उपज किनेर खानुपर्ने दिन आएको बताए।
उनले भने, ‘कस्तो देखियो भने कृषि प्रधान देश हावा, पानी, माटो आदि इत्यादि फेभर गरेको यस्तो मुलुकमा हामीले हरेक दिन किनेर खानुपर्ने, अन्न पनि किनेर खानुपर्ने, फलफूल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दूध किनेर खानुपर्ने यस्ता दिन आए हेर्दाहेर्दै।’
कोरोनाले ब्युझायो
कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर ब्युझाएको मन्त्री भुसालले बताए।
कोरोनाले सिकाएको पाठलाई फेरि पनि बिर्सने काम भयो भने ठूलो गल्ती हुने पनि उनले बताए। गएको दशकमा कृषि मन्त्रालयभित्र पनि मन्त्री कसरी बलियो बन्ने, मन्त्रालयलाई कसरी बलियो बनाउने भन्नेतर्फ मात्रै ध्यान केन्द्रित भएकाले मन्त्रालयले कृषि क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको बताए।
केही दशक खेर गइसकेकाले अब नयाँ व्यवस्थाअनुसार कृषि उत्पादनलाई अगाडि बढाउन खोजिएको जानकारीसमेत उनले गराए।
नयाँ व्यवस्थाअनुसार कृषि क्षेत्रमा लाग्ने कुनै पनि किसानको जीवन, स्वास्थ्य, शिक्षा, सुरक्षाका विषयमा सरकारले ग्यारेन्टी लिने गरी व्यवस्थापन गर्न लागिएको मन्त्री भुसालले बताए।


























