काठमाडौं, असार ११ । शिक्षक सेवा आयोगले शिक्षण अनुमतिपत्रको परीक्षाफल प्रकाशित गरेको छ । जसअनुसार प्राथमिक तहमा ५.८३ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। प्राथमिक तहको परीक्षामा सहभागी ६६ हजार ५ सय ६२ मध्ये ३ हजार ६ सय ८२ जना उत्तीर्ण भए भने ६२ हजार ८८० जना अनुत्तीर्ण भए।
त्यस्तै निम्न माध्यमिक र माध्यमिक तहको अवस्था पनि त्यत्तिकै नाजुक छ। निमावि शिक्षक अनुमतिपत्रको परीक्षामा सहभागी एक लाख एक हजार ९ सय ८४ मध्ये पाँचहजार ७ सय ८ जना उत्तीर्ण भए। यो परीक्षामा सहभागी कुल संख्याको ५.६ प्रतिशत हो।
मावि शिक्षक लाइसेन्सतर्फ ५६ हजार २५७ मध्ये आठ हजार ३८८ जना पास भएका छन् भने ४७ हजार ८ सय ९ जना अनुत्तीर्ण भएका छन्।
यसअघि अंग्रेजी, गणित र विज्ञानमा धेरै परीक्षार्थी अनुत्तीर्ण हुने गरेका थिए। तर, शिक्षक अनुमतिपत्रको पछिल्लो परीक्षामा धेरैजसो शिक्षक सामाजिक शिक्षामा कमजोर देखिएका छन्।


























