चितवन, ,असार १२ । भरतपुरस्थित टिकौलीमा रहेको सवारी कर संकलन गर्दै आएको ढाट (गोन्द्राङ ढाट) लोथरमा सर्ने भएको छ। वि.सं.२०५५ सालदेखि बस्दै आएको ढाटललाई यही असार ११ गतेको निर्णयअनुसार सडक बोर्डले मकवानपुरको मनहरी ६ लोथरमा स्थानान्तरण गने भएपछि पूर्वी चितवनवासीले ठूलो राहत महसुस गरेका छन्। एउटै जिल्लालाई दुई भागमा बाँडेको भन्दै पूर्वी चितवनवासीले वर्षौँदेखि ढाट विरूद्ध आन्दोलन गर्दै आएका थिए। उक्त ढाट लोथरमा स्थानान्तरण हुने भएपछि रत्ननगर उद्योग वाणिज्य संघले शुक्रवार पत्रकार सम्मेलन गरेरै खुलेर स्वागत गरेको छ।
सदरमुकाम आउन जान पनि कर बुझाउनुपर्ने बाध्यताबाट छुटकारा पाएको भन्दै संघले खुसी व्यक्त गरेको छ। ‘चर्चित गोन्द्राङ ढाँट सडक बोर्डको निर्णयअनुसार जिरो प्वाइन्टमा पार्ने भएपछि हामीले राहत महसुस गरेका छौँ,’ संघका अध्यक्ष राजाराम रेग्मीले भने, ‘आज हामीले आफ्नै जिल्लाको सदरमुकाममा जाँदा पनि दैनिक सवारी कर तिर्नुपर्ने समस्याबाट मुक्त भएका छौँ।’
वागमती प्रदेश सांसद कृष्णप्रसाद खनालले भने लोथरमा सार्दैमा समस्या समाधान नहुने बताए। पत्रकार सम्मेलनमा आफ्ना भनाइ राख्दै उनले भने, ‘सरकारले ढाट राखेर सवारी कर उठाउनु नै गलत छ। त्यसैले सवारी कर उठाउने काम तत्काल खारेज गर्नुपर्छ। सवारी कर हरेक सवारीसाधन नवीकरण गर्दा नै जोडेर लिनुपर्छ, तर बाटोमा उठाउने होइन।’ गोन्द्राङबाट ढाट हटेसँगै नारायणगढदेखि लोथरसम्म चल्ने सार्वजनिक यातायात व्यवसायीलाई ठूलो राहत मिलेको उनले बताए।
साथै सौराहका होटल व्यवसायीसहित पूर्वी चितवनका किसान तथा व्यवसायीलाई समेत ठूलो राहत मिलेको उनको भनाइ छ। गोन्द्राङ ढाट हटाउने विषयमा गतवर्ष २०७६ जेठ ३ गते ढाटमा तोडफोड गर्नुका साथै आगो लगाउने कामसमेत भएको थियो। उक्त घटनामा प्रहरीसहित केही सर्वसाधारणसमेत घाइते भएका थिए।


























