जुम्ला । ड्यूटिमा खटिएका ४ स्वास्थ्यकर्मीसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सिल गरिएको छ। प्रतिष्ठानको फरक–फरक विभागमा काम गर्ने ४ जना स्वास्थ्यकर्मी र एकजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताललाई नै सिल गरिएको प्रतिष्ठानका निर्देशक डा मंगल रावलले जानकारी दिए। मध्यरातमा स्वास्थ्यकर्मी र कर्मचारीमा समेत रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ। एक सातादेखि १४ दिन निरन्तर काम गरिरहेका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो।
चार जना प्रतिष्ठानका स्वास्थ्यकर्मी र कर्मचारीसहित १ जना वुटवलका व्यक्तिमा समेत कोरोना पोजेटिभ आएको हो। समुदायबाट नै संक्रमण आएको हुन सक्ने निर्देशक डा रावलले बताए। ‘फरक फरक विभागका कर्मचारीमा कसरी संक्रमण भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भने। प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले, निर्देशक रावलसहित प्रतिष्ठानका कोभिड नियन्त्रण अभियानमा लागेका उच्चस्तरका स्वास्थ्यकर्मी र कर्मचारीहरुको बैठकले आकस्मिकबाहेकका सबै सेवा अनिश्चितिकालीन वन्द गर्ने निर्णय गरिएको हो।
अस्पतालमै काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोरोना पाजेटिभ देखिएपछि प्रतिष्ठानमा ड्यूटिमा खटिएका सवैको स्वाब संकलन गरेर पिसिआर परीक्षणको तयारी भइरहेको छ। प्रतिष्ठानको अस्पताल विभागले एक विज्ञप्ती जारी गर्दै पोजेटिभ सवैको अवस्था सामान्य रहेको जनाएको छ। अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जुम्लाका प्रत्येक नागरिकलाई धैर्यता गरेर कोभिड १९ को लागि पालना गर्नुपर्ने नियम पालना गर्न आग्रह गरिएको छ।
सरकारले पछिल्लो समयमा लकडाउनमा केही खुकुलो गर्ने भनेपछि जुम्लामा भिडभाड अत्याधिक बढेको थियो । स्थानीय प्रशासनले सामाजिक दुरीसहितका काममा ध्यान दिन अपिल निरन्तर गरिरहेपनि भिड घटेको थिएन। यसअघि जुम्लाका कोरोना संक्रमित मध्ये २५ जना निको भएर फिर्ता भइसकेका छन्। ३ जना अहिले पनि आइसोलेसनमा रहेका प्रतिष्ठानले जनाएको छ।
स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी
कर्णाली अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, र उनीहरुको सम्पर्कमा रहेका व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकाम खलंगामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्धारा जारी निषेधाज्ञा असार १० गते दिउँसो ३ बजेबाट अर्को निर्णय नभएसम्मका लागि जारी गरिएको हो।


























