काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग गरी करोडौँ रकम ठगी गरेको आरोपमा केही सातजना पक्राउ परेका छन्। चिठ्ठा परेको भन्दै करोडौँ ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। ठूलो रकम कमाउने चिठ्ठाको लोभमा सरकारी कर्मचारीसमेत फसेको फेला परेको छ।
पक्राउ पर्नेमा झापा, भद्रपुर नगरपालिका घर भई काठमाडौँ बस्दै आएका पुकार बर्मा, काभ्रे सिम्थलीका नविन भण्डारी, रौतहटका आकास अग्रवाल, भारत विहारका एमडी सर्फराज, रौतहटका एस अग्रवाल, पर्साका कृष्णप्रसाद साह र सुनिल साह रहेका छन्। उनीहरुलाई आवश्यक अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।
ठगीमा नेपाल र भारतको गिरोह नै सक्रिय भएको महाशाखाको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। गिरोहले भाइबर, ह्वाट्स एप, इमेललगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गरेका थिए। अहिलेसम्म एक करोडभन्दा बढी रकम ठगेको अनुसन्धानमा खुलेको कार्कीले बताए। ठगहरुले विभिन्न व्यक्तिको खाताबाट ठूलो रकम निकालेकोसमेत प्रहरीले जनाएको छ।

























