काठमाडौं, असार १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको स्थायी समिति बैठकमा पाँच एजेन्डा प्रस्ताव गरिएको छ।
नेकपाका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अमेरिकी विकास सहयोग (एमसिसी) चौथो नम्बरको एजेन्डाका रूपमा बैठकमा छलफलका लागि प्रस्ताव गरिएको छ।
त्यस्तै, बैठकमा वर्तमान परिस्थिति र स्थायी समिति बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्तव्य, सरकारको काम र त्यसअन्तर्गत कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा छलफल हुनेछ।
त्यसैगरी दोस्रो एजेन्डाका रूपमा नेपालको सीमा समस्या र समाधानका सम्बन्धसहित अन्य विषय राखिएका छन्।
त्यस्तै, तेस्रो एजेन्डाका रूपमा पार्टी एकताका बाँकी कामहरू, चौथो एमसिसी र पाँचौँ विविध रहेका छन्।
बैठक बालुवाटारमा अहिले जारी छ।
गत २९ मंसिरदेखि ६ पुससम्म बसेको चौथो बैठकपछि यो नेकपाको पाँचौँ बैठक हो।


























