काठमाडौं, असार १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ।
आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ।
यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो। पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भए पनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन।
खासगरी एमसीसीको बारेमा दलभित्र सहमति जुट्न नसक्दा मिति तोकेर पनि बैठक स्थगित हुँदै आएको छ। एमसीसीबारे पार्टीभित्रै स्पष्ट दुई धार देखिएको छ।
बैठकको एजेण्डाबारे कुनै जानकारी नआए पनि कोरोना महामारी, एमसीसी लगायत विषयमा छलफल हुने नेकपा स्थायी समितिका सदस्य वेदुराम भुसालले बताए।
‘बैठकका एजेन्डाहरू नआए पनि स्थायी समितिले आफ्नो एजेन्डा तय गरेरै छलफल गर्छ। मूलतः बैठकमा यसअघि भएका कार्यको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुने हो, त्यो हुन्छ,’ उनले भने।
भुसालका अनुसार बैठकमा अहिले सबैभन्दा बढी चर्चामा रहेको र पार्टीभित्र समेत बहसको विषय बनेको एमसीसीबारे छलफल हुनेछ। सम्भवतः स्थायी समितिले यसलाई टुंगो लगाउनेछ।
एमसीसीका विषयमा पार्टीले अध्ययन कार्यदल गठन गरेर प्रतिवेदन समेत दिइसकको छ। त्यसैको आधारमा छलफल गरी निष्कर्षमा पुगिने उनले दाबी गरे।
सरकारले आगामी आवको नीति तथा कार्यक्रममा समेत समावेश गरेको एमसीसी परियोजनाबारे सत्तारूढ दल नेकपा अझै अनिर्णीत बनेको छ।
एमसीसीका विषयमा विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको एमसीसी अध्ययन कार्यदल बनाइएको थियो। उक्त कार्यदलले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकाल्दै पार्टीलाई प्रतिवेदन बुझाएको थियो।


























