असार ९ । क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ।
कोरोना महामारीपछि सिरि एमा युभेन्ट्सले आफ्नो पहिलो खेलमा तालिकाको बीचमा रहेको बेलोग्नालाई २–० गोल अन्तरले हराएको हो।
पछिल्लो ८ सिजनको लिग च्याम्पियन युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ४ अंकको अग्रता समेत लिएको छ।
रोनाल्डोले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। म्याथिज डी लिटलाई स्टेफानो डेन्सविलले फल गरेपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो। पाउलो ड्याबालाले ३६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए।
दोस्रो हाफको ईन्जुरी समयमा ड्यानिलोले रातो कार्ड खादै मैदान छाडेपछि युभेन्ट्सले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।
ईटालीको फुटबल सुरु भएपछि युभेन्ट्सले दुई खेलमा गोल गर्न सकेको थिएन। कोपा ईटालियामा युभेन्ट्सले एसी मिलानसंग सेमिफाईनलको दोस्रो लेगमा गोल रहित बराबरी खेलेको थियो।
फाईनल खेलमा समेत नापोलीसंग निर्धारित समयमा कुनै गोल गर्न सकेन। पेनाल्टी सुटआउटमा पराजित भएपछि उसले कोपा ईटालियाको उपाधि समेत गुमाएको थियो।
सोमबार राति समेत उसले केही गल्तीहरु गर्न पुग्यो। तर विपक्षी बेलोग्नाले कुनै फाईदा उठाउन सकेन। सोही कारण युभेन्ट्सले सिरि एमा लगातार चार खेलमा जित निकाल्न सफल भयो।
युभेन्ट्स ६६ अंक सहित शीर्ष स्थानमा छ। एक खेल कम खेलेको लाजियोको ६२ अंक छ। बेलोग्ना ३४ अंक सहित १० औं स्थानमा यथावत छ। एजेन्सी


























