वीरगञ्ज, असार ८ । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालबाट डेढ वर्षीय बालकसहित ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज भएका छन्।
उपचाररत संक्रमित सबैको अस्पतालको आइसोलेनमा बसेको ६ दिनपछि गरिएको पीसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। डिस्चार्ज हुनेहरुमा सखुवाप्रसौनीका डेढ र ३ वर्षीय दुई जना बालक र एक महिला रहेका छन्। उनीहरु तीनै जनामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै जगरनाथपुर गाउँपालिकाका–६ का २५ वर्षीया एकजना महिला र २० देखि ५५ वर्षका सात जना पुरुष पनि डिस्चार्ज भएका छन्। गण्डक कोभिड अस्पताललमा अब ६ जना महिलासहित ३२ जना संक्रमित उपचाररत छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
पर्सामा हालसम्म १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको हिजोको विवरण अनुसार देशभर संक्रमितको संख्या ९ हजार २६ छ। आज थपिएका संक्रमिहरुको विवरण सार्वजनिक हुन बाँकी छ।


























