काठमाडौं, असार ८ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) रू २४ अर्ब ३ करोड बराबरको ’ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकले आज बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो। आज ३ बजे बोलकोबल भएर मंगलबार ट्रेजरी बिल जारी (इस्यु) हुने बताइएको छ।
राष्ट्र बैंकले २८ दिनका लाठि रू ५ अर्ब, ९१ दिनका लागि रू १४ अर्ब ३ करोड र १८२ दिनका लागि रू ५ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ।
सरकार वा राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन प्रयोग गरिने एक प्रकारको ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ। यो २८, ९१, १८२ र ३६४ दिन अवधीको हुन्छ। यी बिभिन्न प्रकारका ट्रेजरी बिल राष्ट्र बैंकले निष्काशन गर्दै आएको छ।
ट्रेजरी बिल कुनै व्यक्ति वा वित्तिय संस्थाले बोलकबोल गरेर किन्न सक्छन्। उक्त बोलकबोल बहुबोल मूल्य विधि मार्फत गरिन्छ।
साथै, ट्रेजरी बिलमा ब्याजदर भन्दा पनि सट्टा छुटदर माथि बोलकबोल हुन्छ।
कुनै व्यक्ति वा वित्तिय संस्थाले सरकारलाई रू। १ करोडको ट्रेजरी बिल किन्दा छुट सहित ९५ लाख दिन सक्छन्।
तर, पछि उनीहरुले अवधी सकिएपछि एक करोड रुपैयाँ नै पाउछन्।


























