तुलसीपुर, असार ७ । दाङमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा आज मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जीतेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहका अनुसार तुलसीपुरबाट दङ्गीशरण गाउँपालिका १ बाकी जाँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई श्रीगाउँबाट वालापुर आउँदै गरेको रा १ त ७५७ नम्बरको ट्रयाक्टरले आइतबार अपराह्न ठक्कर दिएको थियो।
तुलसीपुर उपमहानगरपालिका वडा नं २ कुमलगढीमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते चौधरीको टाउको र छातीमा चोट लागेको थियो। नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम), सोमनाथ निवासी चौधरी आफन्तका घरमा जाने क्रममा दुर्घटनामा पर्नुभएको थियो। मोटरसाइकलमा सवार २२ वर्षीय शर्मिला चौधरीको भने सामान्यावस्था छ। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस


























