चितवन, असार ७ । लकडाउनको अवधिमा देशभर आत्महत्या गर्नेको संख्या बढेसंँगै चितवनमा पनि यसको संख्या बढेको तथ्यांक सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्यांकअनुसार लकडाउन सुरु भएयता जेठ मसान्तसम्म चितवनमा ४२ जनाले आत्महत्या गरेका छन्। तर चालु आर्थिक वर्ष ०७६/७७ को साउनदेखि फागुनसम्म ७२ जनाले आत्महत्या गरेको तथ्यांक छ।
कार्यालयका अनुसार लकडाउनको पहिलो महिना चैतमा मात्रै १४, वैशाखमा १८ र जेठमा १० जनाले आत्महत्या गरेका छन्। लकडाउनको समयमा सबैभन्दा बढी वैशाखमा आत्महत्या गर्नेको संख्या धेरै छ। यीमध्ये अधिकांश घटना भरतपुर महानगरपालिकाभित्रका छन्।
४२ जनामध्ये भरतपुर महानगरपालिकामा मात्र सो अवधिमा २३ जनाले आत्महत्या गरेका छन्। यस्तै रत्ननगर नगरपालिकामा ११, कालिका नगरपालिकामा तीन, माडी नगरपालिकामा तीन र इच्छाकामना गाउँपालिकामा दुईजनाले आत्महत्या गरेका हुन्।
आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष छन्। जसमध्ये २२ पुरुष १७ महिला, १ बालक र २ बालिका छन्। गत आव ०७५/७६ मा १५७ जनाले आत्महत्या गरेको तथ्यांक छ।
गत आवको तुलनामा यस वर्ष आत्महत्याका घटना कम भए पनि लकडाउनको समयमा आत्महत्याका घटना बढेकोे प्रहरी उपरीक्षक नान्ती गुरुङले जानकारी दिए। आत्महत्या गर्नेमा वयस्क उमेर समूहका व्यक्ति बढी छन्।
अन्य अवस्थामा आत्महत्या गर्नेको संख्या कम भए पनि लकडाउनमा यसको संख्यामा अनेपेक्षित वृद्धि भएको उनले बताए। “लकडाउन कारण उत्पत्ति भएको आर्थिक अभाव, बिछोड, घरायसी झगडाकै कारण आत्महत्याको संख्या बढेको अनुसन्धानले देखाएको छ,” गुरुङले भने। उनका अनुसार बन्दाबन्दीमा बस्नुपर्दा मानिसहरू स्वतन्त्र हुन नपाएको, कोरोना त्रासको अनिश्चितता र निराशपनको कारणले आत्महत्याको दर बढेको हो।
महिला सशक्तीकरण तथा परिवर्तन संस्थाकी अध्यक्ष संगीता भट्टराई आर्थिक अभाव नै आत्महत्याको प्रमुख कारण भएको बताउंँछिन्। “लकडाउनले व्यस्त हुने मान्छेले न काम पाउन सके न स्वतन्त्र हुन सके,” उनले भनिन्, “आर्थिक अभाव र पारिवारिक कलहका कारण आत्महत्या गर्ने बढेका हुन्।” उनका अनुसार लकडाउनका कारण प्रेमसम्बन्ध, घरेलु हिंसा, बढेसंँगै मानिसले आवेशमा आएर पनि आत्महत्याको बाटो अपनाउन सक्छन्।
दुईजना विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
लकडाउन अवधिभर जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनका दुईवटा घटना दर्ता भएका छन्। गत जेठ २१ गते भरतपुर महानगरपालिका २१ रतनपुरकी एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी थिइन्। पतिले आत्महत्या गर्न बाध्य पारेकोे भन्दै मृतकका माइती पक्षले ‘आत्महत्या दुरुत्साहन’ को किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरी अदालतको आदेशमा कारागार पठाइएको प्रहरी प्रमुख गुरुङले जानकारी दिए।
यस्तै सोही महिनाकै २९ गते भरतपुर महानगरपालिका १२ की एक महिलाले झुन्डिएर आत्महत्या गरेकी थिइन्। पत्नीलाई झुन्डिएर आत्महत्या गर्न बाध्य पारेकोे भन्दै मृतकका माइती पक्षले ‘आत्महत्या दुरुत्साहन’ को किटानी जाहेरी दिएका थिए। ती व्यक्तिलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको गुरुङले बताए।


























