जेनेभा (स्वीटजरल्याण्ड), असार ६ । कोभिड–१९ को महामारी नयाँ र डरलाग्दो चरणमा प्रवेश गरेको छ। दैनिक संक्रमितको संख्याले कीर्तिमानी उचाई छुन थालेसँगै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रवार यस्तो चेतावनी दिएको हो।
बिहीवार विश्वमा एकै दिन १ लाख ५० हजार संक्रमित फेला परेको डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अदनोम घेब्रेयससले बताएका छन्। यो अहिलेसम्मकै उच्च एक दिने वृद्धि हो। यी मध्ये आधा संक्रमित अमेरिकामा पाइएको हो।
बाँकीमा भने उच्च संख्यामा दक्षिण एशिया र मध्य पूर्वका हुन्। ‘धेरैजसो मानिसहरुलाई घरमा बस्दा बस्दा वाक्क दिक्क लागिसक्यो। देशहरु पनि समाज र अर्थतन्त्र पनि आफूलाई खोल्न निकै उत्सुक छ।
तर भाइरस भने तीव्र गतिमा फैलिरहेको छ। यो अझै पनि प्राणघातक छ र कयौं मानिसहरु अझै पनि अतिसंवेदनशीलछन्,’ उनले भने। कोरोना भाइरसका कारण विश्वमा ८५ लाख भन्दा धेरै मानिसहरु संक्रमित भएको जोन हप्किन्स विश्वविद्यालयले संकलन गरेर राखेको तथ्यांकले देखाएको छ। मर्नेको संख्या पनि कम्तिमा ४ लाख ५४ हजार ३५९ मा पुगेको छ। सबैभन्दा धेरै संक्रमित हुने देश अमेरिका हो।
अहिलेसम्म त्यहाँ संक्रमितको संख्या २१ लाख पुगिसकेको छ भने मर्नेको संख्या १ लाख १८ हजार ४३५ पुगेको छ। एक हप्ता अघिको तुलनामा त्यहाँको नयाँ संक्रमितको सात दिने औसत १५ प्रतिशतले बढेको बिहिवारसम्मको तथ्यांकले देखाएको छ।
यस्तोमा अन्य मानिसहरुसँग दूरी कायम गर्न, बिसञ्चो महसुस भए घरमै बस्न, खोक्दा वा हाँच्छियू गर्दा नाक मुख छोप्न, उपर्युक्त समयमा मास्क लगाउन र बारम्बार हात धुन घेब्रेयससले बताएका छन्।
केही देशमा संक्रमणको स्तर घटेको भएपनि केहीमा उत्कर्षमा पुगेकोले निकट भविष्यसम्म कोरोना भाइरसको व्यवस्थापन गर्न जरुरी भएको डब्ल्यूएचओले बताएको छ। विश्वभर कोभिड–१९ विरुद्ध कम्तिमा १४१ खोप बनाउने काम भइरहेको छ। यसमध्ये करीब १३ ओटा क्लिनिकल परीक्षणको चरणमा प्रवेश गरेका छन्। एजेन्सी
वैज्ञानिकहरुले अहिलेसम्म कोरोना भाइरसको लागि सफल खोपको उत्पादन नगरेकोले सुरक्षित र प्रभावकारी खोप पत्ता लाग्नु निकै कठिन यात्रा भएको टेड्रोसले बताएका छन्। एजेन्सी


























