चितवन । मेला महोत्सवको मञ्चमा आफ्ना प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल मोडल आरूषी मगरद्वारा अभिनित नयाँ लोकगीत बजारमा आएको छ। बिक्रम राना र साहिमा श्रेष्ठको आवाजमा सजिएको गीत ‘मोयाँले’मा नायक आकाश श्रेष्ठसँग आरूषीले कम्मर मर्काएका हुन्।

दीपक शर्माको शब्द/संगीतमा तयार भएको गीतबाट पनि यसअघिका गीतमा जस्तै दर्शकको मन जित्नेमा आरूषी ढुक्क छिन्। ‘मोयाँले मोयाँले ढाँट्यो मोयाँले मेरो हृदय काट्यो मोयाँले’ गीतमा मायाँ प्रीतिका विषयवस्तु समेटिएको छ। अर्जुन तिवारीले छायांकन गरेको उक्त गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन्।

आरूषी मगरका यसअघिका गीतले पनि निकै चर्चा कमाएको थियो। ‘मेरी माया पट्पटानी’, ‘लुकी लुकी’, ‘ब्लास्ट बेबी’, ‘नयनमा गाजल कालै राम्रो’, ‘पुतलीझैँ उडुँ उडुँ लाग्यो’लगायतका गीतमा पनि अभिनय गरिसकेकी छन्। लोक गीत, लोकदोहोरी, आधुनिक, लोकपपलगायत प्रायः सबै खालको गीतमा उनले अभिनय गरिसकेकी छन्।

अभिनयको क्षेत्रमै भविष्य देखेकी उनले आगामी दिनमा पनि गीतसंगीतलाई नै निरन्तरता दिने बताइन्। पछिल्लो समय आरूषी मगर दर्शकको नजरमा पनि लोकप्रिय बन्दै गएकी छन्। विशेष गरी नाच्ने र नचाउने खालको गीतमा अभिनय गर्न रूचाउने उनको भनाइ छ। नृत्यकै लागि देश विदेशका विभिन्न स्थानको समेत भ्रमण गरिसकेकी छन्। गीत हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेला।


























