तम्घास, असार ६ । गुल्मीमा दुई दिनदेखि परेको वर्षाका कारण खसेको पहिराबाट जीप पुरिँदा एकको ज्यान गएको छ। सो घटनामा पाँच घाइते भएका छन्।
धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ वर्षीय तुल्सीराम काउछाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका प्रहरी निरीक्षक पङ्कज चुँदालीले जानकारी दिए। साविकको हाडहाडे गाविस वडा नम्बर २ बाट हाडहाडेकै अर्को गाउँ जान लाग्दा लु १ ज ३९७९ नम्बरको जीप हाडहाडेस्थित चुना ओढारमा पुरिएको हो।
जीपमा सवार पाँचमध्ये दुई जनाको अवस्था गम्भीर भएका कारणले थप उपचारका लागि अर्घाखाँची सन्धिखर्क पठाइएको छ। गाडीचालकसमेत रहेका स्थानीयवासी २० वर्षीय प्रदीप पुन र २५ वर्षीय रमेश रानालाई थप उपचारका लागि सन्धिखर्क पठाइएको हो। बाँकी तीनको सामान्यावस्था रहेकाले हाडहाडेमै प्राथमिक उपचार गरिएको छ।
स्थानीयवासी ३९ वर्षीय केशव काउछा, २१ वर्षीय खिम काउछा र १८ वर्षीय विशाल काउछाको सामान्यावस्था रहेकाले हाडहाडेमै प्राथमिक उपचार गराइएको छ। जीप पुरिएपछि सामान्यावस्थाका एक घाइते पैदल गाउँसम्म पुगेर खबर गर्दा उद्धारमा ढिलाइ भएको थियो। अहिले घटनास्थलमा प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, पुर्कोट दहले जनाएको छ। रासस


























