काठमाडौं, असार ६ । भारत र चीनबीच लदाखको गलवान उपत्यका क्षेत्रमा भएको विवादमा नेपाल बोलेको छ। आज परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत् शान्तिपूर्ण माध्यमले समस्या समाधानको आशा व्यक्त गरेको छ।
नेपाल सधै क्षेत्रीय र विश्व शान्तिको पक्षमा उभिएको भन्दै द्विपक्षीय असमझदारी हट्ने विश्वास व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आफ्ना दुवै छिमेकीले द्विपक्षीय असमझदारी द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति र स्थायित्वको हितमा शान्तिपूर्ण माध्यमले समाधान गर्नेमा विश्वस्त छ।’
भारत र चीनबीच गलवान उपत्यकामा गत सोमबार झडप भएको थियो। त्यस क्रममा भारतका तर्फमा २० सैनिकको मृत्यु भएको थियो। चीनतर्फ भएको हताहतीको जानकारी आएको छ।
दुई देशबीच हिंसात्मक झडपपछि युद्धको खतरा बढ्दै गएको छ। दुवै देशले सिमा क्षेत्रमा सैन्य उपस्थिति बढाएका छन्। यस्तो अवस्थाबीच नेपालको पछिल्लो विज्ञप्तिलाई अर्थपूर्ण मानिएको छ।


























