चितवन, असार ५ । चितवनमा ७४ वर्षका फोक्सो क्यान्सरबाट पीडित वृद्ध पनि कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन्।
भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले ७४ बर्षका फोक्सोको क्यान्सरबाट पीडित वृद्ध कोरोना संक्रमणबाट निको हुनु खुशीको खबर भएको बताए।
फोक्सोको क्यान्सरको उपचारका लागि छोरासँग भारत गएका वृद्धमा गत जेठ ९ गते कोरोना संक्रमण देखिएको थियो।
उनकी ७३ बर्षकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको थियो। उनले श्रीमतीसँगै झण्डै १ महिना भरतपुर अस्पतालमा बसेर उपचार गराएका थिए । श्रीमान श्रीमती दुबैजना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका अस्पतालका चिकित्सक डा. पौडेलले बताए।
‘वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका वरिष्ठ थोरासिक सर्जन डा. विनय ठाकुरले फोक्सोका क्यान्सर रोगी वृद्धले कोरोना जित्नु ठूलो उपलब्धी भएको बताए।
वृद्ध अवस्थामा क्यान्सर रोगको उपचार गराएर भारतबाट नेपाल फर्कने क्रममा उनिहरु कोरोना संक्रमित बने। त्यसको २ दिनपछि छोरामा पनि संक्रमण देखियो। संक्रमति वृद्धवृद्धाका छोरा यसअघि नै डिस्चार्ज भइसकेका छन्।


























