असार ५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न शुक्रबार भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाएका छन्।
प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि सो भर्चुअल बैठक बोलाएको प्रधानमन्त्रीको कार्यालयद्धारा जानकारी गराइएको छ। सो बैठकमा भारतका प्रमुख राजनीतिक दलहरुका अध्यक्षहरुको सहभागिता रहने बताइएको छ। भारत र चीनबीचको लद्दाखस्थित ग्वालन भ्यालीलीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको थियो।
त्यस झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ। उक्त हिंसापछि भारत र चीनबीच सीमा विवाद बढ्दो रहेको देखिएको छ। यी दुई देशकाबीचमा सीमा क्षेत्रको विषयलाई लिएर भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले पनि चासो व्यक्त गरेको बताइएको छ।
सीमामा भएको यो हिंसाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि चासो व्यक्त गरेका थिए। भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी भारतीय सैनिकको ज्यान गएको घटनाबारे उनले चासो व्यक्त गरेका हुन्।
साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि हालैमात्र आह्वान गरेका थिए।


























